गोलबजार नगरपालिकाको तीनवटा हाटबजार ठेक्काबाट उठ्ने रकममा प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारबीच अनुचित साँठगाँठ रहेको अनुमान गरिएको छ।
हाट बजारबाट उठाइएको राजस्व अपचलन भएको आशंका नगरबासीले गरेका छन्। आर्थिक वर्ष २०८१÷०८२ प्रारम्भ भएकै दिन साउन १ गतेबाट मानकी निर्माण सेवाका सञ्चालक मोहन यादवले गोलबजार गुदरी हाट, बाख्रा बजार र चोहर्वा पशु हाटबजारमा शुल्क ९बट्टी० उठाउन थालेका छन्।
ठेकेदारले ठेक्का चलन पुर्जी लिनुअघि अनिवार्य रुपमा बैंक ग्यारेण्टी बुझाउनुपर्छ। तर बैंक ग्यारेण्टी नै नबुझाइएको, ठेक्का सम्झौता नभएको तर ठेकेदारले गैर कानूनी रुपमा ठेक्का कार्यान्वयन गरी शुल्क उठाउन थालेको स्थानीयले बताएका छन्।
यस सम्बन्धमा मानकी निर्माण सेवाका सञ्चालक मोहन यादवसँग नेपाल न्यूज बैंकले जानकारी लिएको छ। उनले भने,‘हामीले गुन्द्री हाट बजार, बाख्रा बजार र चोहर्वा पशुहाट ठेक्का लिएर गत साउनदेखि नै शुल्क उठाइरहेका छौँ। सबै प्रक्रिया अनुसार अघि बढेका छौँ।’
चोहर्वा पशु हाट ३५ लाख, गोलबजार गुद्री हाटबजार २७ लाख र बाख्रा बजार २७ लाखमा मानकी निर्माण सेवाले चालु आर्थिक वर्षको लागि ठेक्का सकारेको थियो। सञ्चालक यादवले भने छिट्टै बैंक ग्यारेण्टी बुझाउने जानकारी दिए।
गोलबजार नगरपालिकाका राजस्व शाखा हेर्ने कर्मचारी रामवृक्ष महतो भन्छन्,‘बैंक ग्यारेण्टी बुझाउन नसकेको कारण ठेक्का सम्झौता भएन। सम्झौता नभएसम्म चलान पुर्जी दिन मिल्दैन। असारमा बैंकले बैंक ग्यारेण्टी जारी गरेन भनियो। साउनभरीमा अडिट गराएर बैंक ग्यारेण्टी बुझाउने शर्त थियो। भदौको पहिलो साता बित्दासम्म बैंक ग्यारेण्टी बुझाइएको छैन। मेयर र प्रमुख प्रशासकीय अधिकृतको तजवीजमा केही रकम किस्ता नगरपालिकाको खातामा जम्मा गरेर ठेकेदारले हाटबजार शुल्क उठाइरहेका छन्।’
नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन्,‘प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको यसमा कमजोरी छ। उनले नियतवश र आर्थिक अपचलन गर्ने तानावाना बुनेर यस्तो प्रकृया अपनाएका हुन्। बैंक ग्यारेण्टी नलिइ, सम्झौता नगरी र चलान पुर्जी समेत नलिई कसरी ठेक्का कार्यान्वयन गरियो ? कानून अनुसार त मिल्दै मिल्दैन। म चुनौति दिन चाहन्छु, ल कुन कानुनमा टेकेर ठेक्का कार्यान्वयन गराइएको हो प्रष्ट पार्नुपर्छ।’
नेता सिंह भन्छन्,‘यसमा लामो र गहिरो षडयन्त्र छ। ठेकेदारले रकम श्रीधर केसीलाई बुझाउँछन्। नगरपालिकाको खातामा थोरै जम्मा हुन्छ। धेरजसो राजस्व अपचलन हुन्छ। मेयर र प्रमुख प्रशासकीय अधिकृतको खल्ती भरिन्छ।’
नेता सिंहले भने,‘आर्थिक वर्ष २०७५।०७६ र २०७६।०७७ मा पनि उनले गोलबजार हाटबजार ठेक्का लगाए तर सम्झौता गरेनन्। चलन पुर्जी दिएनन्। दुई वर्षसम्म हाट बजारबाट उठेको राजस्व एक करोड ५२ लाख अपचलन गरियो। नगरपालिकाको खातामा जम्मा गरिएन। रहक हिनामिना गरियो। अख्तियारमा उजुरी परेको छ र छानविनकै क्रममा छ। त्यही घटनाको पुनरावृत्ति गरिएको छ।’
‘पुराना ठेकेदार भन्छन् हामीसँग सम्झौता भएको छैन, चलन पुर्जी दिएको छैन हामी रकम तिर्दैनौ। कर्मचारी र जनप्रतिनिधि भन्छन् ठेकेदारले रकम बुझाएन र असुल उपर गर्न सकिएन। नगरपालिकाको १ करोड ५२ लाख राजस्व गुमेको छ,’ उनले अगाडि भने।
ठेक्कामै विषयमा नेपाली कांग्रेसका नेता तथा अर्थशास्त्री राजकुमार सिंह भन्छन् ‘बैंक ग्यारेण्टी नराखी उधारोमा ठेक्का कार्यान्वयन गर्ने अधिकार कुनै आर्थिक कानूनले दिएको छैन। सम्झौता नगरी तथा चलन पुर्जी नलिई ठेकेदारले हाटबजारमा कदम राख्नै पाउँदैन। ठेकेदारले बैंक ग्यारेण्टी ल्याउन नसक्दा ठेक्का रद्द गरी अर्को ठेकेदारसँग सम्झौता गरिनु पथ्र्यो। सरकारी काम उधारोमा हुँदैन। अब ती ठेकेदारले म सम्झौता गर्दिन भन्यो भने के हुन्छ ? बैंक ग्यारेण्टी ल्याउनै सकेनन् भने के हुन्छ ? अहिलेसम्म उठाएको शुल्क ठेक्काबाट मान्ने कि अमानतबाट? यसरी गैरकाकुनी रुपमा ठेक्का चलन चलाउनुको पछाडि दुर्नियत देखिन्छ।’
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियुका अध्यक्ष तथा युवा नेता सुरेश यादव भन्छन्, ‘हाट बजारबाट उठती रकम हिनामिना गर्ने र बाँडेर खाने प्रपञ्च गरिएको छ। अहिले ठेकेदारले केही रकम नगरपालिकामा बुझाएका छन्। पछि रकम बुझाए पनि खातामा जम्मा गरिँदैन। अमानतमा उठाएको र थोरै रकम उठेको देखाइन्छ। किनकि ठेक्का सम्झौता भएकै छैन। चलन पुर्जी दिएकै छैन,’ यादव थप्छन्,‘बैंक ग्यारेण्टी भए पो ठेकेदारलाई नगरपालिकाले असुल गर्नसक्छ। अन्तिममा ठेकेदारले बुढी औंला देखाइदिन्छ। नगरपालिकाको राजस्व व्यक्तिको आम्दानी बन्न पुग्छ,’ उनले भने।
प्रमुख प्रशासकीय अधिकृत केसीको कुसाग्र दिमागबाट उब्जिएको भ्रष्टाचारी योजना भएकाले गोलबजार नगरबासी अब धेरै दिन मौन रहन नहुने बताए।