प्रधानमनत्री केपी शर्मा ओलीले, संविधान संशोधनको विषय एउटाको आँट अर्कोले हेर्ने विषय नभएको भन्दै सबै मिलेर आँट गर्नुपर्ने बताए। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानमा संशोधनको कुरा आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने बताए। उनले संविधान संशोधनको आँट सबै मिलेर गर्नुपर्ने बताए। 

उनले भने,‘संविधानमा संशोधनको कुरा गर्दा आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने हो। त्यसमा सरकारको मात्रै होइन, सम्मानीत संसद्को पनि आँट चाहिन्छ। एउटाको आँट अर्कोले हेर्ने विषय होइन, सबै मिलेर आँट गर्ने विषय हो।’

विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जान नदिने र पूर्ण सदुपयोग गर्ने सरकारले नीति अवलम्बन गर्ने बताए। 

उनले भने,‘जिल्ला सदरमुकाममा हालका दिनमा प्रदेशको उपस्थितिले समेत गर्दा थप बजार क्षेत्रको रुपमा विकास भइरहेका छन्। विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जान नदिन र पूर्ण सदुपयोग गर्ने नीति सरकारले अवलम्बन गर्नेछ।’

सरकारले वित्त नीति र मौद्रिक नीतिमार्फत निजी क्षेत्रको मनोबल बढाउने,सम्पन्न भएका आयोजनाहरुका भुक्तानी दिनुपर्ने लगायतका कार्ययोजना बनाई काम गरिरहेको उनले जानकारी दिए।