प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद डा.नारायण खड्काको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको जनाएका हुन्।
घरजग्गा कारोवार क्रमशः वृद्धि हुँदै गएको र पूँजी बजारमा उल्लेखनीय सुधार आएको छ भने निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको ओलीले बताए। राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिका कारण यो सकारात्मक संकेत देखिएको हो।
‘सरकारले जनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानैपर्ने छ। राजनीतिमा अस्थिरता र जनतामा निराशा राखेर हामी ती काम पूरा गर्न सक्दैनौँ। ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिल्नुपर्ने कारण यही हो,’, प्रधानमन्त्री ओलीले भने,‘भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता या देखावटी होइन। हामीले भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषयबनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएरै टुंगोमा पुर्याउनुपन्नर्छ। भ्रष्टाचार नियन्त्रण होहल्लाको विषयमात्रै बन्नु हुँदैन, कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।’
प्रधानमन्त्री ओलीले कार्यान्वयनको अनुभव र जनताको इच्छा, आकांक्षा र राष्ट्रको आवश्यकताका आधारमा राजनीतिक दलहरूको सहमतिमा संविधानमा समयानुकुल परिमार्जन गर्न सकिने पनि स्पष्ट पारे।
डा.खड्कालाई प्रधानमन्त्रीले भने : तपाइँको प्रश्न सुझावपत्र जस्तो भयो
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले सोधेको प्रश्न सुझावपत्र जस्तो भएको बताएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद खड्काले ९ मिनेट ३० सकेन्डको प्रश्न सोधेपछि प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन्।
उनले भने, ‘माननीय सदस्यले प्रश्न कहाँनिर गर्नुहुन्छ भनेर ध्यानपूर्वक सुनिरहेको थिएँ। खासमा प्रश्न फेला पार्नै मुस्किल पर्यो’, प्रधानममन्त्री ओलीले भने,‘यो प्रश्नभन्दा पनि सुझावपत्र जस्तो छ। यसमा प्रश्नमा भन्दा पनि सोलुशन आफैँमा आएको छ।’
खड्काले प्रधानमन्त्रीलाई बधाई दिँदै लामो प्रश्न सोधेका थिए। प्रश्नको जवाफ दिने क्रममा ओलीले खड्काको प्रश्न कहाँनिर हो भन्ने आफूले पत्ता लगाउन नसकेको बताए। ओलीले त्यसो भन्दा संसदमा हाँसो चलेको थियो। बिहीबारको बैठकमा १३ जनाले नाम टिपाएका छन्।