मधेस प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टापछि अनसनकारीको समर्थनमा विभिन्न सङ्घ संस्था तथा पेसागत सङ्गठनहरूले  ऐक्यबद्धता जनाएका छन् । विभिन्न सामाजिक संस्था तथा नागरिक समाजका सङ्गठनहरूले प्रेस विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन् । 

सिरहा जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मनद कुमार साहको अगुवाइ अधिवक्ताहरूको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह समक्ष अनसनकारी प्रति ऐक्यबद्धता रहेको पत्र पठाएका छन्।

पुल निर्माणमा ढिलाइ गरिएको कारण हिजो बुधवार साँझ सिरहा सदरमुकाम सिरहामा प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतिश कुमार सिंहको पुतला दहन गरिएको छ। प्रदर्शनमा ओर्लिएका आन्दोलनकारीहरूले अनसनकारीहरूको जीवनमा तलवितल भएमा आन्दोलनको आँधीबेहरी उठ्ने चेतावनी दिएका छन् । उनीहरूले सिरहाका  सांसदहरूलाई सिरहा सदरमुकाम प्रवेश निषेध गर्ने  घोषणा गरेका छन् ।  

अनसनकारीको मागलाई अविलम्ब सम्बोधन गर्न माग गर्दै सनातन हिन्दु परिषद् नेपालका अध्यक्ष मनिष कुमार यादव, समाजवादी ईन्जिनियरीङ्ग एसोसिएसन नेपाल (सीन) मधेस प्रदेशका अध्यक्ष ई रोशन कुमार यादव, मातृभूमि युवा समाज नेपालका उपाध्यक्ष डा. अविनाश पुर्वे, प्रदेश युवा सञ्जाल मधेस प्रदेशका नइम राईन लगायतले विज्ञप्ति जारी गरेका छन् ।

हुलाकी राजमार्गमा पर्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै पूर्वघोषित कार्यक्रम अनुसार हुलाकी राजमार्ग कमला पुल सङ्घर्ष समिति सिरहा – धनुषाका संयोजक ई प्रवीण यादव, सिरहा नगरपालिका वडा नं.४ र ६ का वडाध्यक्ष समसाद आलम, ईन्द्रजित यादव , औरही गाउँपालिका वडा नंं. ३ र ४ का वडाध्यक्ष जीवछ यादव, सुरेन्द्र यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नं.८ का वडा सदस्य रुपेश यादव, सनातन हिन्दु परिषद्का मनिष कुमार यादव, समाजसेवी युवा शैलेश यादव र शिवशंकर यादव गत मङ्गलवार देखी आमरण अनसनमा बसेका छन् ।  

अनसनको समय लम्बिँदै गएपछि अनसनकारीहरूको स्वास्थ्यमा समस्या देखिन थालेको छ । रक्तचापमा उतार चढाव देखिएपछि तिन जना अनसनकारीहरूलाई स्लाइन पानी दिइएको छ । डा. कृष्ण कुमार यादव नेतृत्वको स्वास्थ्यकर्मीहरुले अनसनकारीहरूको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।