अर्थमन्त्री विष्णु पौडेलले ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। 

बुधबार काठमाडौँमा इप्पानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाईनको अभावले विद्युत आपूर्तिमा समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्। 

उनले भने, ‘हामी अहिले पछिल्ला दिनहरुमा ट्रान्समिसन लाईनको अभावले गर्दा विद्युत उत्पादन भएतापनि आपूर्तिमा भने समस्याहरु देख्ने गरेका छन्। त्यसैले ट्रान्समिसन लाईनको निर्माण विद्युत विकासको सन्दर्भमा उच्च प्राथमिकताको विषय हो। यसका निम्ति राज्यको ध्यान यदि विगतमा यथोचित मात्रामा भएको थिएन भने पनि आउँने दिनमा पुग्ने छ। ट्रान्समिसन लाईनको अभावले भएको समस्या अब निरन्तर हुँदैन।’ 

उनले नेपालमा रहेको प्राकृतिक स्रोतहरुमध्य जलस्रोत अत्यन्तै महत्वपूर्ण स्रोत भएकाले यसलाई देशको समृद्धि, विकास र नेपालको उज्जवल भविष्यको लागि अधिकतम रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘नेपालसँग भएको प्राकृतिक स्रोतमा पनि जलस्रोत अत्यन्तै महत्वपूर्ण प्राकृतिक स्रोत हो, प्राकृतिक सम्पदा हो। यो प्राकृतिक स्रोतलाई हाम्रो देशको समृद्धिको लागि हाम्रो विकासको लागि र नेपालको उज्जवल भविष्यको लागि अत्याधिक र अधिकतम रुपमा सदुपयोग गर्नुपर्छ। 

उनले पहिलो प्राथमिकता आन्तरिक खपत नै हुनुपर्ने भन्दै आन्तरिक खपतबाट बाँकी रहेको विद्युत मात्र बेच्ने नीति हुनु आवश्यक रहेको बताए।