उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्। उनले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै सकरात्मक विचार आवश्यक रहेको औँल्याए।

काठमाडौँ पुतली सडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औँ ‘केसीसी एक्जिबिट २०२४’ को उदघाटन समारोहमा बोल्दै मन्त्री सिंहले समाजमा नकारात्मक कुराहरुमा मान्छेहरुले बढि समय खेर फालिरहेको बताए। 

साथै उनले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताए। उनले नेपालमा पढ्ने विद्यार्थीहरुको संख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको बताए। 

नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताउँदै उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरु नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने बताए। 

‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको वा एआइको जमानामा आफूमा भएको सीप आदनप्रदान गर्नसक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन्,’ उनको भनाइ थियो। 

पूर्वमन्त्री गणेश साहले हरेक विद्यार्थीले गुरुको आशिर्वाद लिनुपर्ने बताउँदै ज्ञानवद्र्धक क्षेत्रमा विद्यार्थीहरु आकर्षित हुनुपर्ने बताए। आफ्नो ज्ञान विश्वमा जोड्न सुझाव दिंदै विद्यार्थीहरु सिर्जनशिल र क्रियाशील हुन सुझाव दिए। उनले मुलुकबाट पञ्चायती र राजतन्त्र हटाउन सफल भएपनि गरिबि हटाउन नसकेको बताउँदै नेपाली विद्यार्थीहरुलाई विदेश जान रोक्नुपर्ने बताए। 

प्राध्यापक रामकृष्ण रेग्मीले समय सापेक्षित शिक्षाका माध्यमबाट कान्तिपुर सिटी कलेजले राम्रो उपलब्धी हासिल गरेको बताए । नेपाल व्यवस्थापन संघ म्यानका महासचिव इन्द्र कुमार श्रेष्ठले केसीसी एक्जिबिट निरन्तरता मात्र नभइ रुपान्तरणका लागि भएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्ने बताए। कम्प्युटर एसोसिएन नेपाल महासंघ ९क्यान महासंघ०का अध्यक्ष रणजितकुमार पोदारले केसीसी एक्जिबिटजस्ता कार्यक्रमहरु हरेक कलेजमा हुनुपर्ने बताउँदै विदेशिनेक्रम रोकिनुपर्ने बताए। उनले सीप हातमा भएका विद्यार्थीहरु स्वदेशमा रोजगारी दिनुपर्ने धारणा राखे।

पूर्वान्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन ई।देवी प्रसाद भट्टराईले कक्षा कोठाभित्र सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै उच्च शिक्षा अध्ययनका नाममा विदेश पलायन रोक्नुपर्ने बताए।

उनले प्रत्येक बर्ष उच्च अध्ययनका नाममा वार्षिक एक खर्ब रुपैंयाँ विदेशिने गरेको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्न सरकारले साथ दिनुपर्ने बताए।

कान्तिपुर सिटी कलेजका प्रिन्सिपल केसीसी एक्जिबिटले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने भएकाले यसलाई निरन्तरता दिएको बताए। उनले आफ्नो कलेजका विद्यार्थीहरुले सिर्जना जस्ताको त्यस्तै प्रदर्शनीमा राखिएको बताए।

शुक्रबार र शनिबार चल्ने ‘केसीसी एक्जिबिट २०२४’मा कलेजकै विद्यार्थीहरुले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु राखिने जनाइएको छ।

सो अवसरमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहितका कलाकारहरुका विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने जनाइएको छ।