गृहमन्त्री रमेश लेखकले जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गतवर्ष गएको भूकम्पबाट प्रभावित भएकाहरूका लागि तीन अर्ब १६ करोड रुपैयाँ निकासा  गरिएको जानकारी दिएका छन्। 

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद कृष्णबहादुर रोकायाले जाजरकोट भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै गृहमन्त्री लेखकले ८६ हजार ६ सय ९० सेवाग्राहीका लागि हालसम्म राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपत् व्यवस्थापन समितिको कोषमा ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको जानकारी गराएका हुन्। 

उनले भने, ‘जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६ सय ९० सेवाग्राहीका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपत् व्यवस्थापन समितिको कोषमा ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको छ। जसअन्तर्गत जिल्ला विपत् व्यवस्थापनले स्थानीय तहलाई २ अर्ब २५ करोड ५ लाख २५ हजार निकासा, स्थानीय समितिबाट प्रक्रिया पूरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ताबापत एक अर्ब ९२ करोड ५८ लाख २५ हजार लाभग्राहीको खातामा निकासा भइसकेको छ।’  

त्यस्तै, उनले कतिपय लाभग्राहीले दोस्रो किस्ताको रकम समेत पाइसकेको भन्दै अन्यको विवरण भने आउने क्रम रहेको पनि जानकारी दिए।