उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा सर्पदंशको घटनामा वृद्धि भएको छ।

नगर क्षेत्रको जोगिदह, मोथ्याई, खैजनपुर, भुल्के, पोर्ताह, राजावास, चुहाडेसहित राजाबास गैरुन, असारी, लक्ष्मीपुर क्षेत्रमा सर्पको बिगबिगी बढेको स्थानीयवासी बताउँछन्। 

करेसाबारी, गोठ र खेतमा काम गर्दा करेत लगायतका विषालु सर्पको डसाइबाट स्थानीयवासी प्रभावित भएको नेपाली सेना भुल्के सामुदायिक सर्पदंश उपचार केन्द्रले जनाएको छ।

हाल त्रियुगा नगरक्षेत्रमा दैनिक पाँच देखि छ जनासम्म सर्पदंशका बिरामी उपचार केन्द्र भुल्केमा उपचारका लागि आउने गरेको उपचार केन्द्रका व्यवस्थापन समिति अध्यक्ष पवित्रा गिरीले बताइन्। अधिकांश सर्पदंशका बिरामीहरू त्रियुगा नगरपालिका क्षेत्रबाट आउने गरेको सर्पदंश उपचार केन्द्रले जनाएको छ।