सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बन्चरो प्रहार गरेर छोराले बाबुको हत्या गरेका छन्।

हरिहरपुरगढी–७ लामपातेका ५८ वर्षीय लालबहादुर घिमिरे विकलाई उनकै माइला छोरा २१ वर्षीय अमृतले सुतिरहेको अवस्थामा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

बाबुको हत्या गर्ने अमृतलाई बन्चरोसहित प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक लालबहादुरको शव पोस्टमार्टका लागि मंगलबार सिन्धुली अस्पताल ल्याइएको छ।

अंशको विषयमा बाबुछोराबीच विवाद हुँदै आएको बताइए पनि हत्याको कारणबारे अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताएका छन्।