नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनु पर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए।
उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाउ भनेर कसैले भन्छ एक रुपैयाँ पनि छोड्न पाइदैँन। सरकारका निकायलाई पनि निर्देशन अनुसार काम गर्नुपर्छ। विधिको शासनमा चल्नु पर्छ। सरकारले यहाँ आएर स्पष्ट पार्नुपर्छ। बिजुली प्रयोग गरेको छैन भने अन्याय हुन दिदैँनौ र प्रयोग गरेको छ भने राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउनु पर्छ।’
यसको साथै, उनले संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउनु पर्ने भन्दै हरेक तहमा दलित र महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।
उनले भने, ‘हामीले संसदसम्म ल्याउछौ तर मन्त्रिपरिषद् बनाउने बेलामा संविधानमा नलेखेको हुदा महिला छुटाई हाल्छौँ। हामी जुनसुकै पार्टीको होस दलित छुट्टाइ हाल्छौ। यो भन्दा अगाडि पुष्पकमल दाहालले गर्जिएर यहाँबाट भन्नु भयो तर उहाँ कै मन्त्रिमण्डलमा हामीले दलित छुट्टायौँ। हामी यति सम्म गर्छौ कि दुई वटा पार्टी मिलेर गठबन्धन गर्दै गर्दा राष्ट्रपति र उपराष्ट्रपति दुइजना नै पुरुष बनाउँछौ। गाँउपालिकामा मौका मिल्ना साथ अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौ। प्रदेशका सरकार यसैगरी चलाउने हो ? हामी संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउने कि नबनाउने, संघीयता योभन्दा राम्रो बनाउने हो।’
उनले रास्वपाले ०८४ मा सबैभन्दा ठूलो दल बनेर कांग्रेस र एमालेलाई हटाउने दाबी गरेको भन्दै जित्यो भने कांग्रेस र एमालेलाई भुईतिर राखेर सरकार चलाउदा हुने बताए।
उनले भने, ‘ठूला दलले ठूलो कुरा गर्ने भन्ने सुन्नमा आउछ, यो सानो दल, ठूलो दलको परिभाषा के हो, ०६४ सालमा माओवादी पनि ठूलो दल होईन। अहिले रास्वपाको त दाबी छ ०८४ मा सबैभन्दा ठूलो दल हुन्छौँ कांग्रेस र एमालेलाई बढछौँ । ठूलो दल बनेर कांग्रेस र एमालेलाई भुईतिर राखेर सरकार चलाउने।’