हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले बङ्गलादेशमा हत्या गरिएका हिन्दुहरूको आत्माको शान्तिको लागि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
आज शनिबार माइतीघर मण्डलामा बङ्गलादेशमा इस्लामिक जिहादीद्वारा हत्या गरिएका हिन्दुहरूको आत्मा शान्तिको लागि उक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।
सोही क्रममा विश्व हिन्दु महासङ्घ केन्द्रीय अन्तराष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मालम्बीहरु माथि भइरहेको अन्यायको निन्दाको रुपमा कार्यक्रमहरु गर्दै आएको बताए।
उनले भने, ‘बङ्गलादेशमा हिंसात्मक द्वन्द्व भड्कियो, त्यसपछि राजनीतिक परिवर्तनसँगै धार्मिक सङ्घ संस्थाहरुमाथि विशेष रुपमा त्यहाँको हिन्दु मन्दिरहरुलाई लक्षित गरेर मन्दिरहरु भत्काउने कार्य भएपछि हामीले त्यसको विरोध गरेका छौँ। हिजो मात्र बङ्गलादेशको राजदूतावासमा गएर यसबारे ज्ञापनपत्र पनि बुझाएका छौँ। आजको कार्यक्रम जतिपनि सनातन धर्मालम्बीहरु माथि भइरहेको अन्यायको हामीले निन्दा गरेका छौँ।’
उनीहरुले हिन्दुहरुमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए।