शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नीतिले हस्तक्षेप गर्ने ठाँउमा नेतृत्व र दलको व्यक्तिले हस्तक्षेप बढि गरेको बताएकी छन्।
शनिबार त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको पाँच औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा उनले नीतिमा टेकेर काम गर्ने अवस्था नआए सम्म स्वचालित भन्ने भाषण र भाषा मात्र हुने बताईन्।
उनले भनिन्, ‘हरेक क्षेत्र आफैँमा सबल र स्वचालित हुनुपर्छ भनेर भन्छौँ भने त्यो क्षेत्रका नीति र कानून चाहिन्छ। यसको साथै त्यसलाई परिचालन गर्नका लागि राजनीतिक षड्यन्त्र र नेतृत्वहरु सशक्त र क्रियाशिल हुनुपर्छ। तर आजसम्म हस्तक्षेपकारी नीति नहुँदा हाम्रो संस्थाहरु दुर्बल भइरहेका छन्। नीतिले हस्तक्षेप गर्नुपर्ने हो, नीतिले हस्तक्षेप नगरेर नेतृत्वले हस्क्षेप गर्ने वा दलको व्यक्तिले हस्तक्षेप गर्ने जुन खालको अवस्था आज देखिएको छ यसको कारण आजको परिणाम आएको हो भन्ने कुरा स्विकार गर्न सक्नुपर्छ।’
यस्तै, उनले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्ने पनि बताइन्। उनले भनिन्, ‘हामीले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्छ। विश्वविद्यालयको अनुसन्धानलाई सरकारले गरेका कामहरुसँग जोड्न सक्नुपर्छ। विश्वविद्यालयको नीति बनाउँदा सबैभन्दा पहिला कुरा भनेको अनुसन्धान नीति कस्तो हुने त्यसले विश्वविद्यालयलाई कसरी निर्देशन गर्ने भन्ने कुरामा गम्भिर हुन आवश्यक छ।’
विद्यार्थीहरु बाहिरिनुमा विश्वविद्यालयको गल्ती होईन, रोजगारीको कमि भएको पनि उनको भनाई छ।
उनले भनिन्, ‘विद्यार्थीहरु बाहिरिनुमा विश्वविद्यालयको मात्र गल्ती होईन, रोजगारीको कमि हो। यसको साथै नेपालको राजनीतिक अस्थिरताका कारण यहाँ केही हुँदैन, राजनीतिक स्थिरता नभएसम्म राम्रो शिक्षा पाउन सकिँदैन भन्ने खालको बहस छलफल हामी जति गर्छौ त्यती नै यहाँ विद्यार्थीहरु बस्न सक्दैनन्। हामी एकातिर विश्वविद्यालयलाई राजनीतिमुक्त गर्ने भनेर भन्छौँ, अर्को तिर हरेक समस्याको कारण राजनीति हो भनेर भन्छौँ यो दुविधायुक्त कुराले पनि युवालाई निरुत्साहित गरिरहेको छ।’