ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको छ। वीर अस्पतालमा शनिबार बिहान २ बजेतिर ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको महानगरीय प्रहरी वृत जनसेवाले जानकारी दिएको छ।
स्थापित पाको न्यूरोडस्थित युवा विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन्। सो सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी अलाइभ ग्लाइडर भनिने किसन राई हुन्। संगम राई कोषाध्यक्ष हुन्।
राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यले बैंकमा राखेको १ करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन देखाइ राई लगायतले सहकारीमा राख्न लगाएको आफन्तजनको भनाइ छ।
स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भए पनि जम्मा गरिदिन आग्रह गर्दासमेत सञ्चालक राईले नटेरेको बुझिएको छ।
राई केही दिनअघि अस्पतालमै पुगेर पीडितलाई धम्क्याएका थिए। राजेन्द्रकी श्रीमतीले उपचार गर्न आवश्यक रकम भए पनि दिन याचना गर्दा राईले ‘तिमीहरू जस्ता कति मरे मरे, अब पनि धेरै मर्छन्, मलाई कसैले केही गर्न सक्दैन’ भनी धम्क्याएर फर्किएका थिए।
युवा विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी विभागले २०७८ सालमै कालोसूचीमा राखेको थियो। विभिन्न बैंक तथा वित्तीय संस्था र राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण नतिर्दा सो सहकारी कालोसूचीमा परेको थियो।