प्रधानीमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निस्वार्थ भावनाका साथ गरेको काम नै सहयोग भएको बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित लायन्स इन्टरनेसनलको जिल्ला पदस्थापना समारोहमा उनले अरुलाई देखाउनको लागि गरिने काम सहयोग नभएको भन्दै परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्ने बताए। 

उनले भने, ‘कसैले देख्यो कि देखेन भनेर सानो सहयोग गरेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेर गरेको काम सहयोग होईन। परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्छ। तपाईहरुले यो सेवाभावका साथ जुन काम गरिरहनु भएको छ, त्यसमा म तपाईहरुको साथमा छु। अर्थात् अहिलेको सरकार लायन्सहरुको साथमा छ।’

उनले यो संस्थाले सेवा दिने क्रममा कसैको जात, देश, धर्म केही नसोध्ने भन्दै सबैलाई सद्भाव र समृद्धिको भावले यसले सहयोग गर्ने बताए। 

उनले भने, ‘समाज सेवाले जात सोध्दैन, देश सोध्दैन, धर्म सोध्दैन। सबैलाई सद्भाव र समृद्धिको भावले सहयोग गर्नुपर्दछ। यो एकदमै राम्रो काम हो यो राष्ट्रको पक्षमा छ।’

यसको साथै, देश राम्रो छ तर मानव र समाज नै बिग्रिएको भन्दै आजको अवस्थामा मानवताको आवश्यकता भएको पनि उनको भनाई छ। 

उनले भने, ‘नेपाल विग्रिएको छ, हाम्रै कारणले हो। प्रकृति कति राम्रो छ हेर्नुस् न हाम्रो नेपालमा। यत्ति राम्रो देश संसारमा पाइदैन, त्यस्तो राम्रो छ हाम्रो यो देश। बिग्रिएको नेपाली समाज हो। मान्छे मार्नका लागि आज मान्छेले हतियार बनाएको छ। अनेकौँ पटक पृथ्वी ध्वस्त हुनेगरि हतियार बनाउन विश्व आज प्रतिस्पर्धा गरिरहेको छ। त्यसैले आज मानवताको आवश्यकता छ। आउँदा दिनमा मानवता र धर्तीको रक्षाको सुनिश्चितता हुनुपर्दछ।’