राजनीतिक विश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेको टिप्पणी गरेका छन्। 

बुधबार काठमाडौँमा बंगलादेशको विकसित घटनाक्रमबाट नेपालमा पर्नसक्ने असरको बारेमा आयोजित साक्षत्कार कार्यक्रममा उनले नेपालमा पनि बंगलादेशको अवस्था सिर्जना हुन सक्ने बताए। 

उनले भने, ‘अब नेपालमा बंगलादेशमा घटेको घटनाको असर कुन रुपमा आउने होला ? भन्ने धेरैको जिज्ञासा देखियो। कतिको त अपेक्षा नै चाँडोभन्दा चाँडो त्यस्तै भइहालोस् भन्ने छ। मेरो विचारमा यो उत्साहप्रद कुरा किमार्थ होईन,’ 

बंगलादेशमा शेख हसिनाको शासकीय शैली विगतदेखि नै आलोचित रहँदै आएको उनको भनाइ छ। हसिनाले पारिवारिक विरासतमा उक्त जिम्मेवारी पाएको उनले टिप्पणी गरे। आफ्नो कार्यकालमा उल्लेख्य राम्रा उपलब्धी हासिल गर्न सकेको, राम्रा सडकहरु बनेको, मुलुकको उत्पादन र उत्पादकत्वको रुझानलाई अभूतपूर्व रुपमा विकास गरेको भएपनि हसिना निरङ्कुश शासक बन्दा अहिलेको परिस्थिति आएको उनको भनाइ छ। 

उनले नेताहरुले के–का लागि राजनीति गरेका रहेछन् ? भन्ने कुरा प्रष्ट भइरहेको बताउँदै जनताले चाँडै बंगलादेशको जस्तो उथलपुथल चाहेको दाबी गरे। 

उनले भने, ‘अब हामीले पनि आफूलाई परिमार्जन गर्न जरुरी छ। किनभने हामीले धरै कुरा देख्यौँ नि त। नेताहरुले के–का लागि राजनीति गरेको रहेछ ? के–का लागि बलीवेदीमा चढाइएको रहेछ भन्ने कुरा त हामीले राम्रोसँग देख्यौँ नि।नेताहरुले राजनीतिलाई ब्राण्डिङ गरेर उद्योग गरेको रहेछन् भन्ने कुरा त नाङ्गो भइसक्यो। त्यही भएर नेपाली जनता पनि चाँडै बंगलादेशको जस्तो हुनपर्यो, नेताहरुलाई कुट्न पर्यो भन्न थालेका छन्। मैले देख्दा यो अलि उत्तेजक दृष्टिकोण हुन्छ। त्यो कुरा होईन, बंगलादेशबाट हामीले सिक्ने हो।’ 

यस्तै, बंगलादेशका लागि पूर्व नेपाली राजदूत डा.वंशिधर मिश्रले शेख हसिनाले बंगलादेशलाई चमत्कारिक विकासको गतिमा आगडि बढाएको बताए। हसिनाको शासन कालमा कंगाल देशबाट बंगलादेश विकसित देशतर्फ अगाडि बढेको उनको दाबी छ। 

उनले भने, ‘विकासको दृष्टिले बंगलादेश पहिलोको जस्तो छैन। शेख हसिनाले छोटो समयमा नै धेरै परिवर्तन गरिन्। उनी आफैँ पनि बलिदानी परिवारको छोरी हुन्।’ 

हसिनाको पालामा बंगलादेशले मुहार फेरेपनि उनी उत्तिकै निरङ्कुश बन्दै गएको मिश्रको आरोप छ। बंगलादेशमा हसिनाको शासनकालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको गुञ्जायस नै नरहेको बताए। 

उनले भने, ‘बंगलादेशमा चमत्कारिक विकास पनि भयो, रोजगारीका अवसरहरु सिर्जना भए। भोकमरीमा रहेका १८ करोड जनतालाई खुवाउने स्थिति पनि बनाए। अर्कोतिर बोल्न, लेख्न पाउने स्वतन्त्रता छैन, जुन मिडिया थोरै बोल्थ्यो, बेपत्ता हुन्थ्यो। एक महिनापछि मृत अवस्थामा फेला पर्ने, कोही त फर्किँदै नफर्किने। मोहम्मद युनिस नोबेल पुरस्कार बिजेता, उहाँ त गौरव हो नि। उनले पनि थुनामा जानुपर्ने भयो। बुद्धिजिवी निसास्सिएर बस्नुपर्ने भयो।’ 

साथै, सन् २००९ मा सत्तारोहण भएपछि हसिना निरङ्कुश शासक बन्दै गएको उनको आरोप छ। उनले हसिनाको सत्तारोहणपछि बंगलादेशमा भएका तीन वटा निर्वाचन केवल औपचारिकतामात्रै रहेको बताए। 

बंगलादेशको घटनाबाट पाठ सिकेर अब नेपालका नेताहरुले जनताले चाहेको सुशासनको कुरालाई बिर्सन नहुने उनको भनाइ छ। जनतालाई दिएको वचन, वाचा र जल्दाबल्दा समस्यालाई सम्बोधन गर्नेगरी नेताहरुले आफूलाई करेक्सन गर्न आवश्यक रहेको उनले बताए। 

बंगलादेशमा विगत एक महिनादेखि जारी आन्दोलनले हिंसात्मक रूप लिएसँगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश नै छाडेकी छन्। उनी अहिले भारतको शरणमा रहेकी छन्। 

बंगलादेशमा पछिल्लो एक महिनाको आन्दोलनमा ३ सयभन्दा धेरैको ज्यान गएको बताइएको छ। हसिनाले प्रधानमन्त्री पद त्यागेर देश छाडेसँगै त्यहाँ सेनाले शासन सत्ता नियन्त्रणमा लिएको थियो। आन्दोलनरत पक्षले सैनिक शासन पनि स्वीकार नगर्ने बताएसँगै अहिले सहमतिमा नोबेल पुरस्कार बिजेता डा. मोहम्मद युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको छ।