बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि प्रदर्शनकारीहरुले देशका विभिन्न स्थानमा अस्वभाविक हर्कत देखाएका छन्। प्रदर्शनकारीहरुले देखाएको अस्वभाविक व्यवहारको तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। 

जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ भने देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन्। हसिनालाई ४५ मिनेटभित्र राजीनामा दिएर देश छाड्न चेतावनी दिएका प्रदर्शनकारीले मंगलबार पनि ठाउँ ठाउँमा अराजक व्यवहार प्रदर्शन गरेका छन्।

राजधानी ढाकाका कैयौं क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन्। त्यस्तै प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट गरेको रिपोर्टमा उल्लेख छ।

सोमबार कैयौं प्रहरी चौकीमा आक्रमण भएको थियो र धेरै ठाउँमा आक्रोशित भीडले प्रहरीसँग झडप गरेका थिए। कतिपय प्रहरी चौकीबाट प्रहरी भागेका थिए।

प्रहरी चौकी भित्रबाट पङ्खा, कुर्सी, टेबुललगायत सबै प्रकारका सामान लुटिएको थियो। सुरक्षा संकटका कारण प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरीहरु आइतबार नै प्रहरी चौकी छाडेर सुरक्षित स्थानमा गएका थिए। प्रहरी चौकीका हतियार समेत लुटिएको समाचार संस्थाहरुले जनाएका छन्।

उत्तेजित समूहले प्रधानमन्त्री निवासभित्रबाट छिरेर थुप्रै सामान चोरी समेत गरेका छन्। प्रधानमन्त्री बस्ने कुर्सीदेखि सोफा, पङ्खा, फ्रिज, लत्ताकपडा, भाँडाकुँडा लगायत थुप्रै सामानको चोरी गरेका छन्। मिडियामा आएका भिडियोहरुमा सेख हसिनाको सारी लगाएर प्रदर्शनकारीले फोटोसुट पनि गरेका देखिन्थे। 

केहीले भने उनका निजी कपडाहरु पनि उठाएको भिडियोमा देखिन्छ। सरकारले प्रदर्शन दबाउन प्रयास गरेपछि आन्दोलन थप हिंसात्मक बन्दै गएको स्थानीय मिडियाहरुले जनाएका छन्। 

सेनाले देशको शासन आफ्नो हातमा लिएपनि प्रदर्शनकारी शान्त बनेका छैनन्। प्रदर्शनकारी बंगलादेशको संसद, प्रधानमन्त्री निवाससहित कैयौं सरकारी भवनमा प्रवेश गरेर उदण्ड मच्चाउदा सेना मुकदर्शक बनेको आरोप लागिरहेको छ।