इटहरी उपमहानगरपालिकाले अब सहुलियत बस सेवा सुरु गर्ने भएको छ। नगरले खरिद गरेका चार वटा बस मंगलबार इटहरी ल्याइएको छ।

इटहरी नगरभरि सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए।

असोज १ गतेबाट इटहरीमा नगर बस सन्चालनमा ल्याउने प्रमुख पौडेलले जानकारी दिए। ‘चार वटा बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्ने गरी काम भइरहेको छ,’ नगरप्रमुख पौडेलले भने, 'जनतालाई सहुलियतमा यो सेवा दिन लागिएको हो।'

बसमा जीपीएस जडान गरी सूचनामैत्री बनाइने छ। बसमा सीसी क्यामेरा लगायतका थुप्रै सुविधा छन्।

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको प्रमुख पौडेलले बताए। समितिले रुट निर्धारण गरेपछि सोहीअनुसार बस चलाइने छ।