वैदेशिक रोजगारीमा गएकाहरु सामाजिक सुरक्षा कोषमा आबद्ध भएपनि त्यसलाई निरन्तरता नदिएको पाइएको छ।

कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई/तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन्।

श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या १० लाख नाघेको छ। कोषमा हाल जम्मा भएको रकम हेर्दा पनि कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्यांकले देखाउँछ। कोषमा दुई अर्ब ३२ करोड ७१ लाख ५१ हजार रकम जम्मा भएको देखिन्छ।

कोषका अनुसार कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन्। जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना रहेको छ भने औपचारिक क्षेत्रका पाँच लाख १६ हजार ७७७ जना आबद्ध भएका छन्।

तर कोषमा हाल जम्मा भएको रकम हेर्दा कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगारीमा जानेलाई यसको फाइदाबारेमा जानकारी दिन नसकेकाले पनि यसमा निरन्तरतामा समस्या भएको हुन सक्ने कोषले जनाएको छ। तर अब यसलाई अभियानकै रुपमा अघि बढाउन लैजान विभिन्न कार्यक्रम अगाडि सारिएको कोषले जनाएको छ।

वैदेशिक रोजगारीमा नयाँ जाने श्रमिक श्रम स्वीकृतिपूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन्। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुनसक्ने भनिएको छ।