झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो झापाको झापा गाँउपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को. ३२ प ८९७४ नम्बरको मोटरसाईकल सहित दमक-१२ का २६ बर्षीय मनिस थापा, २२ बर्षीय रिकाश बस्नेत र १९ बर्षीय रोमित कट्वाल समेतलाई शंका लगि चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो। 

त्यसैगरी, मोरङको विराटनगर-१७ बाट बा.९८ प ४६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैँचा नगरपालिका ३ का ३२ बर्षीय मनोज कटुवाल र मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय अम्बिर यक्सो लिम्बुलाई ३ ग्राम ५८ मिलिग्राम ब्राउन सगुर सहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

त्यस्तै इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थितबाट बा.५६ प.६९३५ नम्बरको स्कुटर चालक भोजपुर हतुवागडी गाउँपालिका-९ घर भई हाल बराहक्षेत्रमा बस्दै आएका ३३ बर्षीय कृष्ण कुमार राईलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने धरान उपमहानगरपालिका १५ की जोनु राईलाई ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेट औषधीसहित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।