लेबनानको राजधानी बेरुतमा इजरायलले जवाफी हमला गर्दा ३ जनाको मृत्यु भएको छ। उक्त घटनामा ७४ जना घाइते भएका छन्। 

इजरायली सेनाले इरान समर्थक आतंकवादी संगठन हिजबुल्लाहका कमाण्डर हज मोहसिन उर्फ फुआद शुक्रको मृत्यु भएको दाबी गरेको छ।

इजरायली सेनाले गोलान हाइट्समा भएको आक्रमणका लागि फुआद शुक्रर जिम्मेवार रहेको आरोप लगाउँदै आएको थियो।

शनिबार हिजबुल्लाहले इजरायलमा विगत १० महिनामा सबैभन्दा ठूलो हमला गरेको थियो। गोलान हाइट्सको फुटबल मैदानमा लेबनानबाट रकेट प्रहार गरेका थिए। जसमा १२ जनाको मृत्यु भएको थियो भने करिब ३० जना घाइते भएका थिए। यसको जवाफमा इजरायली सेनाले हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

इजरायलका रक्षामन्त्री योभ गालान्टले फुआद शुकारको मृत्युपछि खुशी व्यक्त गरेका छन्। उनले शुक्ररले धेरै इजरायलीहरूको हत्या गरेको बताउँदै यसको बदला लिएको उल्लेख गरेका थिए।

रक्षामन्त्री गालान्टले इजरायली जनताको रगतको मूल्य रहेको बताउँदै सिपाहीहरूले इजरायली जनताका हत्याराहरूलाई संसारको जुनसुकै कुनाबाट खोजेर मार्ने पनि प्रष्ट पारेका छन्।

यस्तै, सीएनएनका अनुसार फुआद शुक्रलाई अल–हज मोहसिन पनि भनिन्छ। सन् १९८३ मा बेरुतमा अमेरिकी मरीन कोर्प्स ब्यारेकमा भएको बम विष्फोटमा उनले ठूलो भूमिका खेलेका थिए। जसमा २४१ अमेरिकी सैनिक मारिएका थिए भने १२८ जना घाइते भएका थिए।

फुआद शुक्रलाई सन् २०१९ मा अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरेको थियो। अमेरिकाले उनको बारेमा जानकारी दिनेलाई ५० लाख डलर इनाम राखेको थियो।

उता, लेबनानी सरकारी अधिकारीले भने हिजबुल्लाह कमाण्डर फुआद शुक्र इजरायली हमलाबाट बच्न सफल भएको दावी गरेका छन्। मंगलबारको जवाफी कारबाहीपछि इजरायल र हिजबुल्लाहबीच द्वन्द्व बढ्ने खतरा छ। दुबैले केही समयदेखि एकअर्कालाई आक्रमण गरिरहेका छन्।