उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन्।
मंगलबार बिहान मन्त्री सिंहले सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवन अनुगमन गरेका हुन्।
मन्त्री सिंहले संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले आगामी हिउँदे अधिवेशन यही भवनबाट सञ्चालन गर्न मिल्ने गरी कामलाई तीव्रता दिनुपर्ने बताए।
उनले भने, ‘यो ठुलो संरचना हो। यसलाई १० वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएपनि निर्माणमा समस्या देखियो। बीचमा विभिन्न समस्याहरु आए, कोरोनाको कारणले पनि संसद भवनको निर्माण रोकिएको हो। अब यसलाई समयमै सकाउनका लागि सिफ्टहरु त बढाउनुपर्छ नि। हामीले सधैँ समयमै काम सम्पन्न गर्नका लागि भनिरहेका छौँ। अब हामीले आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने चाहानामा राखेका छौँ। यही अनुसार काम अगाडि बढाउनुपर्यो।’
सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको हो।
सिंहदरबारस्थित पुतली बगैँचा रहेको ठाउँमा पाँच अर्ब ३० करोड रुपैयाँमा भवन निर्माणको काम अघि बढाइएको थियो।
१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधि सभा र राष्ट्रिय सभा रहनेछ। भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको थियो।