अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छन्। शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने भएकी हुन्।
उनले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन्। आयोजक मानव सेवा फाउण्डेसनका अनुसार दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले आज आइतबार र भोली सोमबार गरेर अझै दुई दिन पशुपति कोटिहोम महायज्ञमा कथा प्रवचन गर्नेछन्। दुई दिनको बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम रहेको छ।
कोटिहोम महायज्ञबाट विश्व कल्याणसँगै ललितपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो।
कथा बाचनका लागि नेपाल आएकी उनलाई गृह जिल्ला काभ्रेको पनौती नगरपालिकामा भव्य स्वागत र सम्मान गरिएको थियो। शनिबार काभ्रे सेवा समाज र पनौती नगरपालिकाले उनलाई पनौतीमा आयोजित एक कार्यक्रमका बीच स्वागत र सम्मान गरेका हुन्। उनका लागि खटिएका आठ सुरक्षा गार्डको विषयलाई लिएर नेपालमा टिकाटिप्पणी भइरहेको छ।
ऐतिहासिक श्री पशुपति कोटिहोम धार्मिक तथा साँस्कृतिक तुलादान महामहोत्सव एवं १०८ श्रीमद्भागवत संकट मोचन (दुःख निवारण) शिव महापुराण धनधान्याचल श्री रामायण कथा मासिक पितृ उद्धार तथा मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण आदि सहयोगार्थ सँग-सँगै आश्रमहरूको सर्वाङ्गीण विकासका लागि उक्त ज्ञान महायज्ञ आयोजना गरिएको फाउण्डेशनले जनाएको छ।