विराटनगरमा मेनपावर व्यवसायी मृत भेटिएका छन्। सुनसरीको इनरुवा नगरपालिका-६ घर भएका २८ वर्षीय राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन्। 
होटेलको १०८ नम्बर कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको छ। अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डिएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि पुगेको छ। 
मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको बुझिएको छ। उनले बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर  विराटनगर लिएर आएका थिए। उनी विराटनगरको नयाँ गुद्री अगाडि बसेका थिए भने विदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए। 
बिहान युवाहरूसँगै नआएपछि खोज्दै होटेलमा पुग्दा उनी मृत भेटिएका हुन्। एक जना डेनमार्क पठाएबापत उनले ७ लाख लाग्ने बताएका थिए । विदेश पढाउनुभन्दा अगाडि एक जनाबाट डेढ लाख लिएका थिए। बाँकी रकम विदेश पुगेपछि दिने भनिएको मुकेश कुमार पण्डितले बताए।