विशेष गरी उद्योगी एवम् व्यवसायीहरूले चासोका साथ हेरिएको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने गरी तयारी थालिएको छ। 

यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने गरी नेपाल राष्ट्र बैङ्कले तयारी थालेको जनाएको छ।

मौद्रिक नीतिका लागि अन्य तयारी सकिएको तर शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले बाँकी प्रक्रिया पुरा गर्ने जनाइएको छ।

कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो।

मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन्। गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन्।

अघिल्लो वर्ष साउन ७ गते नै नीति सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै ल्याउने बैङ्कको तयारी थियो।