एसीसी एसिया कप महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । 
बुधवार राति भएको खेलको नतिजासँगै सेमिफाइनल पुग्ने चार टिमको टुङ्गो लागेको हो । 
समूह 'ए' बाट भारत र पाकिस्तानले  सेमिफाइनलमा स्थान बनाउँदा समूह 'बी' बाट श्रीलङ्का र बङ्गलादेशले स्थान पक्का गरेका छन् ।
बुधवार भएको पहिलो खेलमा बङ्गलादेशले मलेसियालाई ११४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्दा दोस्रो खेलमा श्रीलङ्काले थाइल्याण्डमाथि १० विकेटको एकतर्फी जित निकालेको हो ।
समूह चरणका खेल सकिएपछि प्रतियोगिताका दुवै सेमिफाइनल खेल शुक्रबार जुलाई २६ मा हुनेछन् । पहिलो सेमिफाइनलमा भारत र बङ्गलादेशबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा श्रीलङ्का र पाकिस्तान भिड्नेछन् ।
समूह ‘ए’ बाट भारत सबै खेल जितेर शीर्ष स्थानमा छ भने समूह ‘बी’ बाट श्रीलङ्का सबै खेल जितेर शीर्ष स्थानमा छ । 
बङ्गलादेश र पाकिस्तानले भने समूह खेलमा क्रमशः श्रीलङ्का र भारतसँग पराजित भएका छन् । 
त्यसैले सेमिफाइनलमा समूह ‘ए’ को शीर्ष टोलीले समूह ‘बी’ को दोस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । जसमा भारत र बङ्गलादेशबिचको खेल हुनेछ। अर्कोतर्फ समूह ‘बी’ मा शीर्ष स्थानमा रहेको श्रीलङ्काले समूह ‘ए’ मा दोस्रो स्थानमा रहेको पाकिस्तानसँग खेल्नेछ । 
सेमिफाइनलको पहिलो खेलमा शुक्रवार दिउँसो सवा २ बजे भारत र बङ्गलादेश भिड्ने छन् भने सोही साँझ सवा ७ बजे श्रीलङ्का र पाकिस्तान आमने सामने हुने छन् ।