जर्मनीको सबैभन्दा ठुलो र पुरानो ह्याम्बर्ग मस्जिद बन्द गरिएको छ । यो मस्जिद ‘ब्लु मोजातक’ नामले विश्वभर प्रसिद्ध छ । यो मस्जिद सिया मुस्लिम सङ्गठनद्वारा सञ्चालित र इरान सरकारसँग गहिरो सम्बन्ध रहेको जर्मन प्रहरीले जनाएको छ।
यो सङ्गठनले आतङ्कवादी सङ्गठन हिजबुल्लाहलाई समर्थन गरेको र इरानमा इस्लामिक क्रान्ति ल्याउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ। जर्मनीले हिजबुल्लाहलाई आतङ्कवादी सङ्गठन घोषणा गरी २०२० मा प्रतिबन्ध लगाएको थियो।
बिबिसी रिपोर्टका अनुसार जर्मनीमा प्रहरीले इस्लामिक आतंकवादसँग जोडिएको आशङ्कामा ५४ स्थानमा छापा मारेको छ। मस्जिदबाहेक मानिसको घरमा पनि छापा मारिएको थियो। यसलाई इस्लामिक कट्टरपन्थीविरुद्धको सबैभन्दा ठुलो कारबाहीका रूपमा उल्लेख गरेका छन्।
इरानले उक्त कदमको आलोचना गर्दै जर्मनीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। जर्मन समाचार वेबसाइट ड्युच बेलेका अनुसार जर्मन प्रहरीले बर्लिन्, फ्रान्कफर्ट र म्युनिखका तीन वटा प्रमुख मस्जिदमा छापा मारेको हो। प्रहरीले यी मस्जिदहरूलाई इस्लामिक चरम पन्थीसँग जोडिएको र इरानी सरकारको प्रचार प्रसार गरेको आरोप पनि लगाएको छ।
जर्मनीका घरेलु एजेन्सीहरूका अनुसार इस्लामिक सेन्टर ह्याम्बर्ग (आईजेडएच) को इरानका धेरै मस्जिद र सङ्गठनहरूमा गहिरो प्रभाव छ। सन् १९९३ देखि गुप्तचर एजेन्सीहरूले यसमा नजर राख्दै आएका छन्।
यसैबीच, जर्मनीका गृहमन्त्री न्यान्सी फेसवरले यो अभियान कुनै विशेष धर्मको विरुद्धमा नभएर प्रजातन्त्रमा विश्वास नगर्ने र चरम पन्थी सङ्गठनसँग आबद्ध भएकाहरू विरुद्ध भएको बताएकी छिन्। न्यान्सी फेसवरले उनलाई यहुदी विरोधी भावना भड्काएको आरोप पनि लगाएकी छिन्।
इरानको आधिकारिक समाचार एजेन्सी इरानका अनुसार इरानको विदेश मन्त्रालयले तेहराइस्थित जर्मन राजदूतलाई यस घटनाको बारेमा गुनासो गरेको छ। यसलाई इस्लामोफोबिया भनेका छन् र गम्भीर परिणामको चेतावनी दिएका छन्।