गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन्। सोमबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर राजदूत सङले गृहमन्त्री लेखकसँग बधाई ज्ञापनसहित भेटवार्ता गरेका हुन्। 

भेटमा गृहमन्त्री लेखकले दुई देशबिच सधैँ सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे। यस्तै उनले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए। 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए। साथै गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको  मन्त्रालयले जनाएको छ।

राजदूत सङले पनि नेपाल र चीनबिचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे। नेपाल र चीनबिच सांस्कृतिक लगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने उनले विश्वास व्यक्त गरे। 

यसैगरी, राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध नियन्त्रण र दुवै मुलुकका नागरिकहरूको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पारेका थिए।