पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ।
होटल संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका सांग्रिला होटलका सञ्चालक पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो।
केही वर्षदेखि स्वास्थ्य समस्यामा परिरहेका उनले निजामती सेवा छोडेर ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए। पाण्डेले पाँचतारे सांग्रिला होटल २०१८ सालमा खोलेका थिए। पछिल्लो समय उनका छोराहरूले होटलको व्यवस्थापन गर्दै आएका छन्।
मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटल तथा रिसोर्ट सञ्चालन गरी अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा योगदान गरेबापत् उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक तथा सम्मानहरू समेत पाएका थिए।