पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन्।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति भएको हत्या प्रकरणमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो।

धान रोप्न चन्द्रनगर गाउँपालिकास्थित घरमा पुगेक‍ा ८० वर्षीय रायको गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। घटनापछि प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालेको थियो।

घटनाको समयमा मन्त्री रायको घरमा राति साढे ९ बजे आसपास तीनजना व्यक्ति छिरेका उनको घरमा काम गर्ने रामउजैन रायले प्रहरीलाई बताएका छन्। पूर्वराज्यमन्त्री रायलाई भेट्न राति घरमा आएका उनीहरूले नै हत्या गरेको आशंका प्रहरीले गरेको छ।

धान रोप्न उक्त घरमा बसिरहेका राय श्राद्धमा गएर राति साढे ८ बजे फिरेका थिए। उनी आएको करिब एक घण्टा आसपासमा ती तीनजना व्यक्ति छिरेको प्रहरीले जनाएको छ। ती तीनमध्ये एकलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

452263496_909736534517284_2983992402185355711_nघरमा छिरेका तीनजना र मन्त्री रायबीच कुरा चलिरहेका बेला आफू अर्को कोठामा सुत्न गएको बयान राम उदेनले प्रहरीलाई दिएका छन्।

तर मध्यराति उठेर शौचालय जान लाग्दा मन्त्री रायको कोठा खुल्लै देखिएको थियो। कोठामा पसेर हेर्दा मन्त्री राय भुइँमा रगतपच्छे भएर ढलेको अवस्थामा देखिएका थिए। त्यसपछि रायका नाताहरूलाई खबर गरेको उनले बताएका छन्।

मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल घटनाको अनुसन्धान जारी रहेको बताए। उनले रायको घरमा छिरेका तीनजना नै हत्यामा संलग्न भएको आशंकामा अनुसन्धान अघि बढेको छ।

घरेलु हतियार दाउ प्रयोग गरेर रायको हत्या गरिएको प्रहरीले जनाएको छ। उनको शव अहिले पोस्टमार्टमका लागि मलंगवा पठाइएको छ।