प्रधानमन्त्री केपी शर्मा ओलीले माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि आरोप लगाउने कामले सदनको गरिमा नबढ्ने बताएका छन्।
आइतबार सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले राजनीतिक कुरा राजनीतिक रुपमा लिई आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआइ सदनलाई मर्यादित बनाउन आग्रह गरे।
उनले भने,‘मलाई कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन्। मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन। देश र जनतका हितका पक्षमा निष्ठाका साथ छ दशकदेखि काम गर्दै आएको छु। अब पनि त्यही गर्छु। उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन। माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन। कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन। राजनीतिक कुरा राजनीतिक रुपमा लिऔँ। आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ। सदन सदन जस्तै होस्।’
प्रधानमन्त्री ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा पनि स्पष्ट पारे। उनले राजनीतिक पूर्वाग्रहका नाममा झुठको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्त हुन पनि आग्रह गरे।