काठमाडौँ । आइतबार पाकिस्तानसँग भएको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ । 
टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ बलमा मात्र १ विकेटको क्षतिमा ११० रन बनाउँदै पूरा गरेको हो ।
सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नकआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोड्दा सीता राना मगर २६ र पूजा महतोले २५ रन जोडिन् ।
कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकिनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । 
नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया अकबालले दुई विकेट लिँदा फातिमा सानाले एक विकेट हात पारिन् ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्ध शतक पूरा गरिन् । 
उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोड्न सफल भइन् भने मुनि बा अलिले नकआउट ४६ रन जोडिन् । नेपाली बलर सामु हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । 
समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अङ्क जोडेको छ ।
एसिया कपको समूह ‘ए’को भारतले चार अङ्क जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुई दुई अङ्क जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले युएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको युएई अङ्कविहीन छ ।