ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ। नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो।

११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। यसअघि नेपाल २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो। नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन्। पूजा महतो ७ रनमा नट आउट रहिन्।

सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन्। यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन्।

त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन्। कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन्।