नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता बस र यात्रुको खोजीका क्रममा मंगलबारसम्म १५ वटा शव भेटिएका छन्।

अझै कम्तीमा पनि ४७ जना यात्रुको अवस्था अज्ञात रहेपछि खोजीलाई तीव्र पारिएको छ। भरतपुर महागनरपालिका(२९ सिमलतालस्थित सडकबाट २ वटा बस पहिरोसँगै त्रिशूलीमा खसेको आज ५ दिन भइसकेको छ।

गत शुक्रबार बिहान ३ बजे दुईवटा बस त्रिशूलीमा खसेपछि अहिलेसम्म अवस्था खुल्न सकेको छैन। तर उक्त बसमा रहेकामध्ये १५ यात्रुको शव घटनास्थलबाट ४० देखि ५० किलोमिटर तल नारायणी किनारमा भेटिएका छन्।

अन्य शवलाई पनि नारायणीले उतार्ने अनुमानसहित खोजीका लागि सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ।

सीमा क्षेत्रनजिक नारायणी नदीमा शव भेटिएपछि बगाएर भारत लान सक्ने आकलनका आधारमा त्यतातर्फका जिल्लामा समन्वय गरे खोजी थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।