झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेका छन्।
सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोल पम्पनजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
प्रहरी नायब उपरीक्षक चन्दका अनुसार दुर्घटना भएको उक्त बस कन्डक्टरले चलाएका थिए।
मोरङको बेलबारीबाट उक्त बस झापाकै शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय कण्डक्टर पुण्य सिटौलाले चलाएर ल्याउने क्रममा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाँचिएको थियो। टाउको र छातीमा चोट गम्भीर चोट थियो। उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा सोमबार राति ८ बजे मृत्यु भएको छ।
प्रहरीले बस चालक इलामको माई नगरपालिका–८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका–२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ।