ललितपुर महानगरपालिकाले आइतबार बालकुमारीमा रहेका अनधिकृत संरचना हटाएको छ। ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा पुगेको टोलीले सो संरचना हटाएको हो।

हाछेथुका अनुसार बागमती नदी छेउमा विगत २५ वर्षदेखि अनधिकृतरूपमा संरचना बनाएर मानिसहरू बस्दै आएका थिए। पछिल्लो समय सो क्षेत्रमा अनधिकृत संरचना बनाउने क्रम बढेपछि महानगरले एक्सन लिएको उनले बताए।

महानगरले १० दिनअघि तीन दिनको समय दिएर सो क्षेत्र खाली गराउन पत्राचार गरेको थियो। तर, समय अपुग हुने भएपछि थप ७ दिनको समय दिएको थियो। सो समयसीमा सकिएसँगै आज महानगरको टोली त्यहाँ पुगेको हो।

हाछेथुका अनुसार त्यहाँ ९ वटा घरटहरा रहेका थिए। त्यसमध्ये २ वटा घरटहराले सूचनापछि ठाउँ खाली गरिसकेका थिए। आज खाली नगरिएका ७ वटा घरटहरा हटाइएको उनले बताए।