गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ। भेटिएका शवमध्ये तीनजनाको पहिचान खुलेको छ। 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो। आज भेटिएका मध्ये दुई शवको शनाखत हुन बाँकी छ।

आज चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरार्सी पूर्व गैँडाकोटमा शव भेटिएको हो। गोलाघाट स्थित नारायणी नदी किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए। सशस्त्र प्रहरी गण नम्बर–१७ बाट खटिएको इन्स्पेक्टर मनोज गुरुङ नेतृत्वको टिमले शव निकालेर स्थानीय प्रहरीलाई बुझाएको छ।

पूर्वी नवलपरासीका गैँडाकोट नरपालिका–७ स्थित गैरीमा पनि एकजना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुबै बस त्रिशूलीमा बगेका थिए। गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए।