बेलबारी ः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्तीका अवसरमा मोरङको बेलबारी नगरपालिकामा स्थानीय साहित्यकार बादल चाम्लिङको कथासङ्ग्रह ‘चेकेदेम राजारानीको दरबार’ सार्वजनिक गरिएको छ ।
स्रष्टा समाज बेलबारीले आयोजना गरेका औपचारिक कार्यक्रमका बीच कथासङ्ग्रह सार्वजनिक गरिएको हो ।
कार्यक्रमका अवसरमा समालोचक मिश्र बैजयन्तीले सार्वजनिक गरिएको कथासङ्ग्रहमाथि समालोचनात्मक टिप्पणी गरिन् । पाँचथरको पहाडी भूभागलाई परिवेशका रूपमा स्थापित गरेर लेखिएका कथाहरू सङ्ग्रहमा सङ्ग्रहित रहेको बताउँदै उनले कथाको प्रस्तुति अत्यन्त संवेदनशील रहेको उल्लेख गरिन् । लेखिका चाम्लिङले आफ्ना पुर्खाले पहाडका गुफाहरूमा गरेका सांस्कृतिक, राजनीतिक तथा सामाजिक गतिविधिहरूको झलक कथाहरूमा प्रकट गरेको भन्दै समालोचक बैजयन्तीले सो कथासङ्ग्रहलाई ऐतिहासिक कथासङ्ग्रहका रूपमा चित्रित गरिन् । सुत्रात्मक शैलीका कथाहरू सङ्ग्रहित रहेको कथासङ्ग्रहका कारण थुप्रै मौलिक नेपाली शब्दहरूले पुनर्जीवन पाएको उनको भनाइ थियो ।
कथासङ्ग्रहकी लेखिका चाम्लिङले पाँचथरको कुम्मायकस्थित आफ्नो पैत्रिक गाउँको रानी गुफाको सांस्कृतिक महत्व उजागर गर्न आफूले यो कथासङ्ग्रह तयार पारेको बताइन् । आफ्ना अधिकांश कथाहरूमा आफू अबोध बालिकाका रूपमा प्रस्तुत भएको भन्दै उनले आफ्ना बाल्यकालका स्मृतिहरू कथामा प्रतिबिम्बित भएको उल्लेख गरिन् ।
यसैगरी, बेलबारीका पूर्वसांसद तथा अग्रज साहित्यकार हर्कमान तामाङले ऐतिहासिक विषयलाई केन्द्रमा राखेर साहित्य सिर्जना गरिनु प्रशंसनीय कार्य रहेको बताउँदै यसलाई थप परिष्कृत गर्न ऐतिहासिक साहित्यहरूको अध्ययन र त्यस्ता साहित्य सिर्जनामा अभ्यस्त साहित्यकारहरूसँग अन्तरक्रिया गरिनुपर्ने धारणा राखे । साहित्यिक चर्चाले बुझाइको स्तर बढाई समाजलाई चेतनशील बनाउने उनको भनाइ थियो ।
यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि बेलबारी नगरपालिकाका मेयरसमेत रहेका संस्कृतिकर्मी दिलप्रसाद राईले नेपाली साहित्यको इतिहास दुई सय वर्षभन्दा पनि कम अवधिको मात्र रहेको अवस्थाका बीच बेलबारीमा साहित्यिक पुस्तक प्रकाशनको प्रचलन बढ्दो क्रममा रहेको बताए । नेपाली साहित्यको आफ्नै शास्त्रीयता नभएकाले संस्कृतिको शास्त्रीयता नै नेपाली साहित्यको पनि शास्त्रीयताका रूपमा स्थापित रहेको उनको भनाइ थियो । कथामार्फत् इतिहास र संस्कृति प्रतिबिम्बित गर्न सफल भएकोमा उनले साहित्यकार चाम्लिङलाई बधाइ दिए ।
कार्यक्रमका प्रमुख अतिथि भारतको पश्चिम बङ्गाल राज्यस्थित दार्जिलिङका साहित्यकार मनप्रसाद सुब्बाले भारतीय नेपालीभाषी समुदायमा भानु जयन्ती पर्वका रूपमा मनाउने गरिएको बताए । भारतभरका विभिन्न शक्तिशाली जातीय तथा सांस्कृतिक समूहसँग लडेर नेपाली भाषा र साहित्यको पहिचान जोगाउनु परेको बताउँदै उनले भारतीय नेपालीभाषीको संस्कृति र भाषाका लागि सङ्घर्ष जारी रहेको उल्लेख गरे । भानु जयन्तीले नेपाली संस्कृति र साहित्य प्रवद्र्धनको माध्यमका रूपमा काम गरेको उनको भनाइ थियो । फरक प्रसङ्गमा प्रमुख अतिथि सुब्बाले साहित्य रचना गर्ने मानवीय प्रवृत्ति अनुसन्धानको विषय रहेको बताउँदै सर्जकको मनमा स्पन्दित करुणाले साहित्य सिर्जनाका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने उल्लेख गरे । कथासङ्ग्रहकी रचनाकार चाम्लिङका कविताहरूमा मौलिकता झल्कने गरेको स्मरण गर्दै प्रमुख अतिथि सुब्बाले कथामा पनि मौलिकता प्रतिबिम्बित हुने विश्वास व्यक्त गरे ।
आयोजक संस्था स्रष्टा समाज बेलबारीका अध्यक्ष जेबी थुलुङको सभापतित्वमा सम्पन्न कार्यक्र्रममा लेखक तथा पत्रकार केशु विरही, साहित्यकार नवराज पोख्रेल, गीतकार मिश्रा गुरुङ, दार्जिलिङका गीतकार पुरन गिरी, साहित्यकार चन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो ।