मोरङ र सुनसरीमा भारी वर्षा भएको छ। गएरातिदेखि सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको हो।

भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले अझ धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ।

सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ।

वर्षाका कारण इटहरी सडक जलमग्न भएको छ। कोशी राजमार्ग अन्तर्गत इटहरी–विराटनगर सडक खण्डको इटहरीस्थित रिलायन्स उद्योग अघिको सडक जलमग्न भएको हो।