शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार १८ जना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन्।
उनले बाढीपहिरो तथा विपद्जन्य घटनामा परी स्याङ्जामा तीन, तनहुँमा तीन, पर्वतमा दुई, काभ्रेपलाञ्चोकमा दुई, काठमाडौँ, उदयपुर, पाल्पा र दाङमा एक–एक जना गरी १४ जनाको मृत्यु भएको जानकारी दिए।
भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी, नारायणी, महाकालीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ।




















