खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्री २.९२ जीपीए ल्याएर उतीर्ण भएका छन्।

उमेश श्री लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी हुन्। उनले खुट्टाले लेखेर एसईई परीक्षा दिएका थिए ।  ‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन’, उनले भने, ‘सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु।’

उनको एसइई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने योजना छ। ‘मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बाली विज्ञानमा नै गर्ने सोचेको छु’, खत्रीले भने। पढाइ सकेपछि भविष्यमा लोकसेवा आयोगको परीक्षा दिएर अधिकृत बन्ने इच्छा उनको छ।

शारीरिक रुपले अशक्त १८ वर्षीय उमेश खुट्टाले लेखेर एसइई परीक्षामा उत्तीर्ण हुने यस क्षेत्रकै पहिलो विद्यार्थी हुन्। उमेश जन्मजात दुवै हात र खुट्टा नचल्ने भएर जन्मिएका थिए।