बेलबारी ः मोरङको बेलबारी नगरपालिका १ स्थित आदर्श सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुलले नवआगन्तुक विद्यार्थीको स्वागत, एक तह उत्तीर्ण विद्यार्थीको दीक्षान्त र एसईई उत्तीर्ण विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले आज शुक्रबार एक औपचारिक समारोह आयोजना गरी स्वागत, दीक्षान्त तथा बिदाइ सम्पन्न गरेको हो ।
यसका साथै विद्यालयले सञ्चालन गरेका विभिन्न अतिरिक्त कृयाकलापमा सहभागी भई प्रथम, दृतीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृतसमेत गरेको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले दीक्षित विद्यार्थीलाई बधाइ दिँदै उनीहरूको उत्तरोत्तर प्रगतिको कामना गरे । जीवनको आधारका रूपमा विद्यालयलाई चित्रित गर्दै उनले औपचारिक पाठ्यक्रमका अतिरिक्त खेलकुद, कला, साहित्य, विज्ञान तथा प्रविधि, सङ्गीतजस्ता विषयको ज्ञान पनि विद्यालयले नै विद्यार्थीलाई दिनुपर्ने उल्लेख गरे । बालबालिकामा देशभक्ति र स्वाबलम्बनजस्ता गुण विकसित गराउन विद्यालयले भूमिका खेल्नुपर्ने बताउँदै उनले यसका लागि स्थानीय संस्कृति, प्रचलन र व्यवहारसँग बालबालिकालाई विद्यालयले परिचित गराउनुपर्ने धारणा राखे । फरक प्रसङ्गमा नगरप्रमुख राईले विद्यालयमा खाजाका रूपमा प्रयोग गरिने परिकार स्वस्थकर नहुँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिँदै गएकाले रैथाने परिकारको प्रयोग बढाउनुपर्ने बताए ।
यसैगरी, बेलबारी नगर प्याब्सनका अध्यक्ष भगवतीप्रसाद घिमिरेले सफल विद्यार्थीहरूलाई बधाइ दिँदै उनीहरूको उज्वल भविष्यको कामना गरे । निजी विद्यालयहरूले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विभिन्न संस्थाले आयोजना गर्ने अतिरिक्त कृयाकलापका गतिविधिमा सहभागी हुने अवसर विद्यार्थीलाई दिँदै आएको उनले उल्लेख गरे । प्याब्सनले शिक्षकको सीप र दक्षता वृद्धि गर्ने उद्देश्यले उनीहरूलाई विभिन्न तालिम प्रदान गरिरहेको उनको भनाइ थियो । शिक्षकमा रहेको ज्ञान र सीप विद्यार्थीमा स्थानान्तरण हुने वातावरण विद्यालयले बनाउनुपर्नेमा उनले जोड दिए ।
यसैगरी, मोरङ प्याब्सनका सचिव जगत बस्नेतले कक्षागत गतिविधिका अतिरिक्त विद्यार्थीको क्षमता प्रष्फुटन गर्ने अन्य कार्यक्रम पनि विद्यालयमा सञ्चालन हुनुपर्ने बताए । बेलबारीमा ३६ ओटा निजी तथा संस्थागत विद्यालय सञ्चालनमा रहेको बताउँदै उनले सोमध्ये अतिरिक्त कृयाकलापजस्ता सुविधाको राम्रो व्यवस्था भएका गुणस्तरीय विद्यालय भने आधा दर्जनको हाराहारीमा मात्र रहेको दाबी गरे । भौतिक पूर्वाधार र दुरुस्त व्यवस्थापनसहित सञ्चालित विद्यालयका रूपमा आदर्श मेमोरियललाई चित्रित गर्दै उनले सञ्चालक समितिको कुशल व्यवस्थापन क्षमताको प्रर्शसा गरे ।
विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रदर्शन गरेको सो कार्यक्रममा बेलबारी १ नम्बर वडा सदस्य हेमादेवी विश्वकर्मा, विद्यालयको शिक्षक अभिभावक सङ्घकी अध्यक्ष कोपिला दङ्गाल, एन प्याब्सन बेलबारीका अध्यक्ष पर्वत राई लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार चौहानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।