सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका मतका लागि पेस गर्नुभएको प्रस्तावका पक्षमा २८ मत परेको र सो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएको सभामुख भीमबहादुर भण्डारी घोषणा गर्नुभयो।
प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्यसहितले गरेको बेल घेराउ र नाराबाजीका बीच मुख्यमन्त्रीले विश्वासको मत पाउनुभएको हो।
दोस्रो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले बेल घेराउ गरी नाराबाजी गरिरहँदा सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा मुख्यमन्त्री सोडारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो। नाराबाजीका बीच सभामुखले मतविभाजको प्रक्रियाद्वारा मुख्यमन्त्रीले पेश गरेको प्रस्तावलाई बैठकमा निर्णयार्थ पेस गर्नुभयो। यससँगै प्रतिपक्षी नेपाली कांग्रेसका १८,नागरिक उन्मुक्तिका पाँच र राप्रपाका एक सदस्यले मतदान प्रक्रियामा भाग नलिई बैठकबाट बाहिरिनुभएको थियो।
प्रदेशसभाबाट विश्वासको मतपाएपछि बैठक कक्ष बाहिर मुख्यमन्त्री सोडारीले एक–दुई दिनभित्र सरकारले पूर्णता पाउन बताउनुभयो। यसअघि आजै प्रदेशसभाको पहिलो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले आफ्नो ठाउँबाट उठेर विरोध गर्नुभएको थियो। सभामुखले आफ्नो भनाइ राख्न दिएको समयमा प्रतिपक्षी नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले सरकार गठनको प्रक्रियामा प्रश्न उठाउनुभएको थियो।
आजको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्य प्रतिपक्षी बेञ्चमा र दुई सदस्य सत्तापक्षीय बेञ्चमा बस्नु भएको थियो। सत्तापक्षीय बेञ्चमा बस्नेमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा हुनुहुन्छ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख ६ गते नियुक्त हुनुभएको थियो। त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)को सभामुखबाहेक १०, नेकपा (एमाले)को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा ९एकीकृत समाजवादी० पार्टीका चार, राप्रपा र स्वतन्त्र एक–एक सदस्य हुनुहुन्छ।