प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा उहाँहरुबीच संसद बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो।  

भेटवार्तामा कांगे्रस नेताहरुले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने लगायतका आफ्ना मुद्दाबारे जानकारी गराउनुभएको थियो। कांग्रेसका मागका सन्दर्भमा प्रधानमन्त्री दाहाल सकारात्मक रहनुभएको नेता लेखकले बताउनुभयो। सो सम्बन्धमा कांग्रेसको सोमबार बस्ने संसदीय दलको बैठकमा छलफल तथा निर्णय हुने उहाँले बताउनुभयो।  

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। सरकारले आगामी जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ। त्यसअघि सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहालले कांग्रेसका सभापति देउवासहितका नेताहरुसँग आज छलफल गर्नुभएको हो।