मोरङको बेलबारी नगरपालिका-४ नम्बर वडा कार्यालयले आफ्ना वडावासीका घरदैलोमा गई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ।

शारीरिक अशक्तता वा अतिवृद्धावस्थाका कारण वडा कार्यालयमा उपस्थित हुन नसक्ने सेवाग्राहीलाई बैङ्कका कर्मचारीसँगै वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीको टोलीले घरघरमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको वडाध्यक्ष चन्द्रबहादुर लिम्बूले जानकारी दिए।

उनका अनुसार नगरका अन्य वडाका वडावासीहरूले बैङ्कमै पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकोमा ४ नम्बर वडा कार्यालयले भने सामान्य सेवाग्राहीलाई वडा कार्यालयबाट र अशक्त तथा अतिवृद्ध सेवाग्राहीलाई घरघरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको छ।

sfsfsfsafdsआफूले २०८० सालको भदौ महिनायता सबै सेवाग्राहीले वडा कार्यालयबाटै भत्ता बुझ्न पाउने व्यवस्था मिलाएको बताउँदै वडाध्यक्ष लिम्बूले नागरिकलाई सहज रूपमा सेवा पुर्याउन पाउँदा चुनावी प्रतिबद्धता पूरा गर्न सकेको अनूभूति भएको सुनाए। वडा कार्यालयले दिने अन्य सेवासुविधा पनि सहज ढङ्गले लक्षित वर्गसम्म पुर्याउनका आफू लागिपरेको बताउँदै उनले आफू निर्वाचित भएयता एक दिन पनि वडा कार्यालयको सेवा प्रभावित हुनेगरी बिदा नलिएको बताए। सरकारी कामकै सिलसिलामा बाहिर जानुपर्ने भएपनि कार्यवाहक जिम्मेवारी अन्य जनप्रतिनिधिलाई दिएर मात्र जाने हुँदा वडावासीको काम प्रभावित हुने अवस्था नआएको उनको भनाइ छ।

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बुझ्न आएका स्थानीय ज्येष्ठ नागरिक जितबहादुर खत्रीले बैङ्कमा गएर भत्ता लिनुपर्दा टाढा जानुपर्ने भएकोमा वडा कार्यालयबाटै भत्ता पाउँदा सहज भएको अनुभव सुनाए। बैङ्कबाट भत्ता लिँदा व्यहोर्नुपर्ने सास्तीबाट पनि वडा कार्यालयको सेवाले मुक्त गरिदिएको उनको भनाइ छ।

यसैगरी, अर्की ज्येष्ठ नागरिक सेवाग्राही अम्बिकादेवी आचार्यले पनि वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता बुझ्न पाएकोमा खुसी व्यक्त गरिन्। उनका भनाइमा वडा कार्यालयले भत्ता उपलब्ध गराउन थालेपछि समयको बचत हुनुका साथै सास्तीबाट मुक्ति मिलेको छ।

बेलबारी ४ मा हाल एक हजार एक सय ७८ जनाले सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन्। सोमध्ये ६८ वर्ष र सोभन्दा बढी उमेरका ज्येष्ठ नागरिक सुरक्षा भत्ता पाउने सेवाग्राही सात सय ४१ ज्ना रहेका छन् भने ६० वर्ष र सोभन्दा बढी उमेरका दलित ज्येष्ठ नागरिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको सङ्ख्या ५४ रहेको छ। यसैगरी, ६० वर्ष र सोभन्दा बढी उमेरका ८९ जना ज्येष्ठ नागरिक एकल महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाइरहेका छन्। यस्तै, एक सय ४७ जना एकल महिला, २५ जना पूर्ण अपाङ्गता भएका व्यक्ति, ६९ जना आंशिक अपाङ्गता भएका व्यक्ति र ५३ जना दलित बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको वडा कार्यालयले जनाएको छ।