बेलबारी : मोरङको बेलबारी नगरपालिकाले क्यान्सरका बिरामी पत्ता लगाउन प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ। महिलाको पाठेघरको मुखमा हुने क्यान्सर र स्तन क्यान्सरको समस्या ग्रामिण क्षेत्रमा बढेको भन्दै नगरपालिकाले शिविर सञ्चालन गरी रोगको प्रारम्भिक परीक्षण गर्न थालेको हो।

sdsdfsfवैशाख १६ गतेदेखि सुरु भएको शिविर ११ दिनसम्म चल्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए। उनका अनुसार नगरका २ र ४ नम्बर वडामा शिविर सम्पन्न भएको छ। २ नम्बर वडामा ६० जना महिलाको परीक्षण गर्दा १६ जनामा क्यान्सर सङ्क्रमण देखिएको हुनसक्ने आशङ्का गरिएको उनले उल्लेख गरे। त्यसैगरी, ४ नम्बर वडामा ८० जना महिलामा परीक्षण गर्दा नौजना सम्भावित सङ्क्रमित भेटिएको शाखा प्रमुख विश्वकर्माले बताए।

नगरपालिकाले विराटनगरमा सञ्चालित नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो। शिविरमा क्यान्सर रोग विशेषज्ञ (मेडिकल अङ्कोलोजिस्ट) डा.समिम अख्तर र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अमिता ढकालको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरिरहेको शाखा प्रमुख विश्वकर्माले जानकारी दिए।

शिविरमा परिचालित क्यान्सर रोग विशेषज्ञ डा। समिम अख्तरले समुदायमा क्यान्सरको सङ्क्रमण बढिरहेको देखिएको बताए। उनका अनुसार प्रायः महिलाहरूमा हुने स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरका बिरामी ग्रामिण भेगमा फेला पर्ने गरेका छन्। यसैगरी, फोक्सो, नाक, घाँटी तथा मुखको क्यान्सरका बिरामीको सङ्ख्या पनि उल्लेख्य रहेको उनको भनाइ छ। क्यान्सरको सङ्क्रमण समुदायमा तीव्र रूपमा फैलिरहेको भएपनि सर्वसाधारणको कमजोर आर्थिक अवस्था, समयमा जाँच नहुनेजस्ता विविध समस्याका कारणले रोगको पहिचान हुन नसकेकोमा शिविरमार्फत् रोग पत्ता लगाउन सहयोग गर्ने उद्देश्य राखिएको उनले उल्लेख गरे। डा.अख्तरका अनुसार शिविरमा क्यान्सर लागेको आशङ्का गरिएका बिरामीको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा विस्तृत परीक्षण तथा उपचार गरिनेछ।