अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ। विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आउनुभएको रेजरले मन्त्री पुनसँग भेट गर्नुभएको हो। 

भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए)को २१औँ बैठकबारे छलफल भएको छ। उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुँदैछ। बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुनुहुने अर्थ मन्त्रालयले जानकारी गराएको छ। 

बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिनुभयो। मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताउनुभएको थियो। मन्त्री पुनले आईडीए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिनुभयो। 

बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको मन्त्री पुनको भनाइ थियो। यस्तै बैठक तयारीबारे काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उहाँको भनाइ थियो। 

विकास साझेदारहरुको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनुहुनेछ। आईडीए विश्व बैंकको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकाय हो। सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलनका रुपमा लिएको जनाएको छ।

नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने आईडीए बैठकको प्रमुख एजेण्डा छ। आइडीएको बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो। 

विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन। हरेक तीन वर्षमा हुने आइडीएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो।