चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले अमेरिकी कानूनविरुद्ध लड्ने जनाएको छ। टिकटक छोटा भिडियो साझेदारी हुने लोकप्रिय एप हो।

नौ महिनाभित्र लगानी फिर्ता लैजानुपर्ने या प्रतिबन्ध झेल्नुपर्नेगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै एक विधेयकमा हस्ताक्षर गरिसकेका छन्। टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइट डान्ससँग छ।

अमेरिकाका टिकटक प्रयोगकर्ताको विवरण बाइट डान्सले चीन सरकारलाई उपलब्ध गराइरहेको चीनको आशंका छ। यही आशंकाबीच अमेरिकाले टिकटक बन्द गराउनेगरी विधेयक ल्याएको हो। तर प्रयोगकर्ताको विवरण चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप टिकटकले अस्वीकार गर्दै आएको छ।

टिकटकका प्रमुख च्युसोउ जीले अमेरिकी सरकारको पछिल्लो कदमविरुद्ध अदालतमा लडाईं लडिरहने बताएका छन्। तथ्य र संविधान आफूहरूको पक्षमा रहेकाले आफूहरू अमेरिका छाडेर कतै नजाने उनले दाबी गरेका छन्।

टिकटकमै एक भिडियो राख्दै जीले पछिल्लो विधेयकमाथि कडा आलोचना गरेका छन्। उनले टिकटकका कारण मानिसहरूको जीवन सुध्रिएको पनि बताएका छन। टिकटकमाथिको प्रतिबन्ध मानिसहरूको आवाजमाथिकै प्रतिबन्ध हुने उनको तर्क छ।

अर्को एक विज्ञप्तिमा टिकटकले अमेरिका तथ्याङ्क सुरक्षित राख्न अर्बौं डलर लगानी गरेको र यो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त रहेको दाबी गरेको छ।