नेपाल र चीनका प्रहरीले कोरला नाकामा पैदल गस्ती गरेका छन्। सीमा क्षेत्रमा हुनसक्ने अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि दुवै देशका प्रहरीले बुधवार पैदल गस्ती गरेको नेपाल प्रहरीले जनाएको छ।

नेपाल र चीनबिचको सिमाना कोरलास्थित पूर्व २४ नम्बर पिल्लरदेखि पश्चिमको २३ नम्बर पिल्लरसम्म अन्दाजी दुई किलोमिटर सीमा क्षेत्रमा दुवै देशका प्रहरीले संयुक्त रूपमा पैदल गस्ती गरेका छन्।

नेपालको तर्फबाट मुस्ताङको इलाका प्रहरी कार्यालय लोमान्थाङबाट आठ जना र चीनतर्फ सीमास्थित रहेको लिजी प्रहरी कार्यालयका आठ जना प्रहरीले संयुक्त रूपमा गस्ती गरेको नेपाल प्रहरीले जनाएको छ।

यस प्रकारको कार्यले सीमा क्षेत्रमा हुनसक्ने सीमा अपराध नियन्त्रणमा सहज हुनसक्ने विश्वास लिइएको नेपाल प्रहरीले जनाएको छ। कोभिड अघि वर्षमा दुई पटक मात्र खुल्ने कोरला नाका हाललाई सधैँका लागि खुल्ला गरेको छ। प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट फर्केपछि सो नाका पूर्ण रूपमा खुल्ला छ।