उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयहरूको जवाफ सदनमै उभिएर दिन पाउनुपर्ने बताएका छन्।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सहकारी लगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताए। 

लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुराहरू सदनमा उठाउन पाउनुपर्ने विषयलाई आफूले सम्मान गर्ने भन्दै उनले आफूले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताए। 

लामिछानेले गृहमन्त्रालयको काम कारवाही, विपत व्यवस्थापनको तयारी, भूकम्पपीडितको पुर्नवास लगायतका विषयमा समेत आफूले जवाफ दिन चाहिरहेको जिकिर गरे। उनले जाहेरी दिदैमा सदनमा सबै विषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको बताए।

रास्वपा सभापति समेत रहेका लामिछानेले पार्टीका अन्य नेताहरूको पनि सहकारी प्रकरणमा नाम जोडिएको विषयमा प्रचारबाजी मात्रै भएको तर्क गरे।