झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक युवक घाइते भएका छन्। युवकमाथि छुरा प्रहार गर्ने पाँच जना पक्राउ परेका छन्।
बिर्तामोड नगरपालिका-१ स्थित पश्चिम बस पार्कमा सोही ठाउँका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताएका छन्।
सुनिराममाथि छुरा प्रहार गर्ने बिर्तामोड-१ का २३ वर्षीय राम टुडु, सोही ठाउँका २९ वर्षीय सुसान मुर्मु, बिर्तामोड-६ का १९ वर्षीया एलिना श्रेष्ठ,अर्जुनधारा-११ का ३० वर्षीय सरोज सहनी र कनकाई-१ का २३ को मनोज विकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गिरीले बताए। उनीहरुबीच मंगलबार राती ८:०० बजेतिर झगडा भएको थियो। सोही क्रममा छुरा प्रहारबाट सुनिरामको बायाँ हातको कुममा र ढाडको माथिपट्टि गर्दनको भागमा चोट लागेको छ।
उनको बिर्तामोडस्थित स्पाइनेक्स अस्पताल उपचार भइरहेको छ। घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनिले अनुसन्धान गरिरहेको छ।